भाद्र १८, धनगढी।
राष्ट्रिय खेलकुद परिषदको कार्यतालिका अनुसार यहि असोज २८-कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौ वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरुप सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजना तथा सुदुरपश्चिम प्रादेशिक क्रीकेट संघको व्यवस्थापनमा यहि भाद्र १४ गतेदेखि धनगढीको फाप्ला क्रीकेट मैदानमा सुरु भएको सुदुरपश्चिम प्रदेश स्तरीय पुरुष छनोट क्रीकेट प्रतियोगिताको पाँचौं दिनको खेलमा कञ्चनपुर जिल्लाले कैलाली जिल्लालाई ५ विकेटले पराजित गर्दै छनोट प्रतियोगितामा विजयी यात्रा कायमै गर्न सफल हुँदै छनोट प्रतियोगिताको फाइनल प्रवेश गर्न पनि सफल भएको छ।
पाँचौं दिनको खेलमा कैलाली जिल्लाले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।फलस्वरूप,कैलालीले निर्धारित १० ओभरको खेलमा ८ विकेटको क्षतिमा मात्र ४९ रन जोड्न सफल भयो।ब्याटिङतर्फ कैलालीका लागि टेक रावतले १८ बलमा सर्वाधिक अविजित १३ रन बनाउदा शेर मल्लले ६ बलमा १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन्। बलिङतर्फ कञ्चनपुरका लागि अर्जुन साउँदले २ ओभरमा १ मेडेनसहित मात्रै १ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदा मिलन बोहराले २ ओभरमा १० रन खर्चंदै महत्त्वपूर्ण २ विकेट लिन सफल भए।

५० रनको सामान्य विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको कञ्चनपुर जिल्लाले निर्धारित १० ओभरको खेलमा ५ विकेटको क्षति ५० रन बनाउदा खेल ५ विकेटले जित्न सफल हुँदै छनोट प्रतियोगिताको फाइनलमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ।ब्याटिङतर्फ कञ्चनपुरका लागि आदित्य महताले ११ बलमा सर्वाधिक अविजित १४ सर्वाधिक रन बनाउदा कप्तान दिपेश चन्दले १० बलमा महत्त्वपूर्ण १० रन बनाउन सफल भए।बलिङतर्फ कैलालीका लागि धर्मराज जोशीले २ ओभरमा ८ रन खर्चंदै सर्वाधिक २ विकेट लिन सफल हुँदा पनि आफ्नो टोलिलाइ जित भने दिलाउन सकेनन्।