भाद्र १7, धनगढी।
राष्ट्रिय खेलकुद परिषदको कार्यतालिका अनुसार यहि असोज २८-कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौ वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरुप सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजना तथा सुदुरपश्चिम प्रादेशिक क्रीकेट संघको व्यवस्थापनमा यहि भाद्र १४ गतेदेखि धनगढीको फाप्ला क्रीकेट मैदानमा सुरु भएको सुदुरपश्चिम प्रदेश स्तरीय पुरुष छनोट क्रीकेट प्रतियोगिताको चौथो दिनका खेलहरुमा कञ्चनपुरले अछामलाइ ४ रनले पराजित गर्दा कैलालीले डडेल्धुरालाई ३६ रनले पराजित गर्दै आफ्नो विजयी यात्रा कायम राख्दै भोलि हुने छनोट प्रतियोगिताको सेमिफाइनल भेट पक्का गरेका हुन्।
चौथो दिनको पहिलो खेलमा कञ्चनपुरले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।फलस्वरूप,कञ्चनपुरले निर्धारित १० ओभरको खेलमा ८ विकेट गुमाउदसम्पुर्ण विकेटको क्षतिमा मात्र ६३ रन जोड्न सफल भयो।ब्याटिङतर्फ कञ्चनपुरका लागि आदित्य महताले १४ बलमा सर्वाधिक १३ रन बनाउदा भरत धानुक ११ बलमा अविजित १२ रन तथा हेमन्त धामीले १० बलमा १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन्।बलिङतर्फ अछामका लागि युवा युवराज खत्रीले २ ओभरमा १ मेडेनसहित ३ रन,लालु शहानी २ ओभरमा ५ रन तथा जित साउँदले २ ओभरमा २६ रन खर्चंदै समान २/२ विकेट लिन सफल हुदा सुरज तिरुवाले १ ओभरमा ४ रन खर्चंदै महत्त्वपूर्ण १ विकेट लिन सफल भए।
६४ रनको मध्यम विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको अछामले निर्धारित १० ओभरको खेलमा ७ विकेटको क्षतिमा मात्र ५९ रन बनाउनसक्दा खेल ४ रनको झिनो अन्तरले गुमाउनपुग्यो।ब्याटिङतर्फ अछामका लागि अर्जुन साउँदले ७ बलमा सर्वाधिक १२ रन बनाउदा सुरज तिरुवा ६ बलमा ११ रन तथा दिपक टमटाले १५ बलमा १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन नसक्दा टोलि पराजित हुनपुगेको टिम प्रशिक्षक चाँदनी शाहले बताउनुभयो।बलिङतर्फ कञ्चनपुरका लागि हेमन्त धामीले २ ओभरमा ६ रन खर्चंदा मिलन बोहराले २ ओभरमा १२ रन खर्चंदै समान २/२ विकेट लिन सफल हुँदा बिकास आग्री २ ओभरमा ७ रन तथा भरत धानुकले १ ओभरमा ८ रन खर्चंदै समान १/१ विकेट लिन सफल भएका हुन् ।
प्रतियोगिताको चौथो दिनको दोश्रो खेलमा कैलालीले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।फलस्वरूप, कैलालीले निर्धारित १० ओभरमा ६ विकेटको क्षतिमा ८८ रन बनाउन सफल भयो।कैलालीका लागि दिनेश ओडले १३ बलमा सर्वाधिक २७ रन बनाउदा टेक रावत १७ बलमा १८ रन,शेर मल्ल ५ बलमा १३ रन तथा कप्तान नारायण जोशीले ११ बलमा १२ रन बनाउन सफल भए।बलिङतर्फ डडेल्धुराका लागि निर्मल रोक्काले २ ओभरमा १२ रन खर्चंदा सचिन मल्लले २ ओभरमा १६ रन खर्चंदै समान २/२ विकेट लिन सफल हुँदा इशान पालीले १ ओभरमा ६ रन खर्चंदै १ विकेट लिन सफल भए।
८९ रनको उच्च विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको डडेल्धुराले निर्धारित १० ओभरको खेलमा ५ विकेटको क्षती मात्र ५२ रन बनाउन सक्दा खेल ३६ रनले गुमाउनपुग्यो।ब्याटिङतर्फ डडेल्धुराका लागि हरिश चन्दले २१ बलमा सर्वाधिक १६ अविजित रन बनाउदा सचिन साउँद १२ बलमा ११ अविजित रन तथा कप्तान सुनिल तामाङले ७ बलमा १० रन बनाउन सफल भए।बलिङतर्फ कैलालीका लागि नागराज सिंहले २ ओभरमा १ मेडेनसहित १ रन खर्चंदा नरेन साउँदले २ ओभरमा १६ रन खर्चंदै समान २/२ विकेट लिन सफल हुँदा शेर मल्लले २ ओभरमा ७ रन खर्चंदै महत्त्वपूर्ण १ विकेट लिन सफल भए।
छनोट प्रतियोगिता अन्तर्गत पाँचौं दिनको पहिलो खेल छनोट प्रतियोगिताको दोश्रो सेमिफाइनल खेल भोलि बिहान ८ बजेदेखि कञ्चनपुर र कैलाली तथा दोश्रो खेल भोलि दिउँसो १ बजेदेखि छनोट प्रतियोगिताको फाइनल खेल बैतडी र दोश्रो सेमिफाइनल खेलको विजेताबीच धनगढीको फाप्ला क्रीकेट मैदानमा हुने सिरिज संयोजक दिनेश सिंह ज्यूले बताउनुभयो।