Skip to content
Home » सुदुरपश्चिम प्रदेशस्तरीय पुरुष छनोट क्रीकेट प्रतियोगिता : कैलाली र डडेल्धुराको विजयी सुरुवात

सुदुरपश्चिम प्रदेशस्तरीय पुरुष छनोट क्रीकेट प्रतियोगिता : कैलाली र डडेल्धुराको विजयी सुरुवात

  • by

भाद्र,१४,धनगढी।

राष्ट्रिय खेलकुद परिषदको कार्यतालिका अनुसार यहि असोज २८-कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौ वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरुप सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजना तथा सुदुरपश्चिम प्रादेशिक क्रीकेट संघको व्यवस्थापनमा आजदेखि धनगढीको फाप्ला क्रीकेट मैदानमा सुरु भएको सुदुरपश्चिम प्रदेश स्तरीय पुरुष छनोट क्रीकेट प्रतियोगिताको पहिलो दिनका खेलहरुमा कैलालीले दार्चुलालाइ ५ विकेटले पराजित गर्दा डडेल्धुराले बझाङलाई ३८ रनले पराजित गर्दै विजयी सुरुवात गर्न सफल भएका छन।छनोट प्रतियोगिताको उदघाटन सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्यसचिव दिपकबहादुर सिंहको प्रमुख आतिथ्यतामा भएको हो।

पहिलो दिनको पहिलो खेलमा दार्चुलाले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।फलस्वरूप,दार्चुलाले निर्धारित २० ओभरको खेलमा १९.४ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षतिमा मात्र १०० रन जोड्न सफल भयो।ब्याटिङतर्फ दार्चुलाका लागि विरेन वमले ३० बलमा सर्वाधिक २० रन बनाउदा दिनेश बिष्ट १५ बलमा १६ रन,करनसिंह डडाल १० बलमा अविजित १५ रन,सुरेश साउँद १९ बलमा १२ रन तथा अशोक बिष्टले १९ बलमा ११ रन बनाउन सफल भए।बलिङतर्फ कैलालीका लागि नागराज सिंह ३.४ ओभरमा १ मेडेनसहित १८ रन,धर्मराज जोशी ४ ओभरमा २३ रन तथा नरेन साउँदले ४ ओभरमा २३ रन खर्चंदै समान २/२ विकेट लिन सफल हुदा कप्तान नारायण जोशी ४ ओभरमा ९ रन तथा शेर मल्लले ४ ओभरमा २६ रन खर्चंदै समान १/१ विकेट लिन सफल भए।

१०१ रनको मध्यम विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको कैलालीले निर्धारित २० ओभरको खेलमा १७.२ ओभर खेल्दै ५ विकेटको क्षतिमा १०१ रन बनाउदै रोमाञ्चक ५ विकेटको जित आफ्नो नाममा दर्ता गराउदै प्रतियोगितामा विजयी सुरुवात पनि गर्न सफल भएको छ।ब्याटिङतर्फ कैलालीका लागि टेक रावतले ३६ बलमा सर्वाधिक ३६ रन बनाउदा उपकप्तान सन्दिप बिष्ट २१ बलमा १८ रन तथा दिनेश ओडले १२ बलमा १० रन बनाउन सफल भए।बलिङतर्फ दार्चुलाका लागि विरेन वमले ३.४ ओभरमा १५ रन खर्चंदै सर्वाधिक २ विकेट लिन सफल हुँदा करनसिंह डडाल ४ ओभरमा १ मेडेनसहित २५ रन तथा रोशन कुँवरले २ ओभरमा ९ रन खर्चंदै समान १/१ विकेट लिन सफल भएपनि आफ्नो टोलिलाइ जित भने दिलाउन सकेनन्।

प्रतियोगिताको पहिलो दिनको दोश्रो खेलमा डडेल्धुराले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।फलस्वरूप, डडेल्धुराले निर्धारित २० ओभरमा सम्पुर्ण विकेटको क्षतिमा १३८ रन बनाउन सफल भयो।डडेल्धुराका लागि दिलबहादुर बोहराले २६ बलमा सर्वाधिक ३२ रन बनाउदा सचिन साउँद ३९ बलमा २७ रन,अर्जुन बिक १० बलमा १९ रन,कप्तान सुनिल तामाङ १३ बलमा १८ रन तथा सचिन मल्लले ६ बलमा आक्रामक १४ रनको महत्त्वपूर्ण पारी खेल्न सफल भए।बलिङतर्फ बझाङका लागि अनिल थापाले ३ ओभरमा ११ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदा अशोक धामीले ४ ओभरमा २७ रन खर्चंदै २ विकेट तथा कप्तान अविनाश सिंहले २ ओभरमा १४ रन खर्चंदै १ विकेट लिन सफल भए।

१३९ रनको उच्च विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको बझाङले निर्धारित २० ओभरको खेलमा १८.३ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षती मात्र १०० रन बनाउन सक्दा खेल ३८ रनले गुमाउनपुग्यो।ब्याटिङतर्फ बझाङका लागि रिजन थापाले १५ बलमा सर्वाधिक २३ रन बनाउदा अशोक धामी १२ बलमा १८ रन,सञ्जय बोहरा ८ बलमा अविजित १४ रन तथा गोविन्द बिष्टले १२ बलमा १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन्।बलिङतर्फ डडेल्धुराका लागि इशान पालीले ३ ओभरमा ६ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदा दिलबहादुर बोहराले १.३ ओभरमा ७ रन खर्चंदै महत्त्वपूर्ण २ विकेट लिन सफल हुँदै रोमाञ्चक ३८ रनको जित निकाल्दै प्रतियोगितामा पनि विजयी सुरुवात गर्न सफल भएको छ।

छनोट प्रतियोगिता अन्तर्गत दोश्रो दिनको पहिलो खेल भोलि बिहान ८ बजेदेखि कञ्चनपुर र अछाम तथा दोश्रो खेल बैतडी र डोटी बीच धनगढीको फाप्ला क्रीकेट मैदानमा हुने सिरिज संयोजक दिनेश सिंह ज्यूले बताउनुभयो।

1 thought on “सुदुरपश्चिम प्रदेशस्तरीय पुरुष छनोट क्रीकेट प्रतियोगिता : कैलाली र डडेल्धुराको विजयी सुरुवात”

Leave a Reply

Your email address will not be published. Required fields are marked *