कार्तिक,०५,२०७९
सुदुरपश्चिम प्रादेशिक क्रीकेट संघको आयोजनामा यहि असोज ३१ गतेदेखि कैलाली र कञ्चनपुरमा सुरु भएको प्रधानमन्त्री कप प्रादेशिक क्रीकेट छनोट प्रतियोगिताअन्तर्गत कञ्चनपुर जिल्लाको कभर्डहल क्रीकेट मैदानमा आज छैटौं दिन भएको खेलमा दिपक टमटाको उत्कृष्ट ब्याटिङ मद्दतले कञ्चनपुर जिल्ला ४९ रनले पराजित हुनपुग्यो।
आज बिहान कञ्चनपुरको कभर्डहल मैदानमा भएको कञ्चनपुर र अछाम बीचको खेलमा अछाम जिल्लाले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिन पुग्यो।फलस्वरूप, अछामले निर्धारित ४० ओभरको खेलमा ७ विकेटको क्षती १८३ रन जोड्न सफल भयो।ब्याटिङतर्फ अछामका लागि दिपक टमटाले ५८ बलमा सर्वाधिक ४८ रन बनाउदा जय साउँद १९ बलमा अविजित २८ रन, सचिन शर्माले ५५ बलमा २५ रन,हिमाल कुँवर २२ बलमा अविजित १८ रन,निराजन गौतम २६ बलमा १७ रन,राज विश्वकर्मा २६ बलमा १२ रन तथा अर्जुन साउँदले १५ बलमा ११ रन जोड्न सफल भए।बलिङतर्फ कञ्चनपुरका लागि हेमन्त धामी ८ ओभरमा १ मेडेनसहित १८ रन, सुशील खड्का ५ ओभरमा ३० रन तथा निराजन कुँवरले ५ ओभरमा १ मेडेनसहित १४ रन खर्चंदै समान २/२ विकेट लिन सफल भएका हुन।
१८४ रनको मध्यम विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको कञ्चनपुरले निर्धारित ४० ओभरको खेलमा ३०.२ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षती मात्र १३४ रन जोड्न सक्दा खेल ४९ रनले गुमाउन पुग्दै प्रतियोगिताको फाइनलमा आफ्नो नाम सुरक्षित गर्न सकेन।ब्याटिङतर्फबाट कञ्चनपुरका लागि अनुराग सिंहले ४८ बलमा सर्वाधिक ३६ रन बनाउदा कृष्ण बिष्ट ३३ बलमा ३५ रन,मिलन बोहरा २९ बलमा २७ रन तथा किरन ठगुन्नाले २५ बलमा ११ रन बनाउन सफल भए।बलिङतर्फ अछामका लागि नवीन रावल ७ ओभरमा २६ रन खर्चंदा सुरज तिरुवाले ८ ओभरमा १ मेडेनसहित २५ रन खर्चंदै समान ३/३ विकेट लिन सफल हुँदा सचिन शर्माले पनि २.२ ओभरमा १३ रन खर्चंदै महत्त्वपूर्ण २ विकेट लिन सफल हुँदै आफ्नो टोलिलाइ जित दिलाउन पनि सफल भए।
प्रधानमन्त्री कप प्रादेशिक क्रीकेट छनोट प्रतियोगिताको छैटौं दिनको खेलमा अछाम जिल्ला ४९ रनले विजयी हुँदै फाइनल प्रवेश गर्न पनि सफल भएको छ।खेलको म्यान अफ दी म्याच अछामका दिपक टमटा घोषित हुन सफल भए।