कार्तिक,०५,२०७९
सुदुरपश्चिम प्रादेशिक क्रीकेट संघको आयोजनामा यहि असोज ३१ गतेदेखि कैलाली र कञ्चनपुरमा सुरु भएको प्रधानमन्त्री कप प्रादेशिक क्रीकेट छनोट प्रतियोगिताअन्तर्गत कञ्चनपुर जिल्लाको कभर्डहल क्रीकेट मैदानमा आज सातौं दिन भएको फाइनल खेलमा नरेन साउँदले उत्कृष्ट बलिङ्ग गर्दा अछाम जिल्ला ७ विकेटले पराजित हुनपुग्यो।
आज बिहान कञ्चनपुर जिल्लाको कभर्डहल क्रीकेट मैदानमा भएको कैलाली र अछामबीचको फाइनल खेलमा अछाम जिल्लाले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिन पुग्यो।फलस्वरूप, अछामले निर्धारित ४० ओभरको खेलमा ३७.२ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षती मात्र ११२ रन जोड्न सक्यो।ब्याटिङतर्फ अछामका लागि राज विश्वकर्माले ३१ बलमा सर्वाधिक २७ रन बनाउदा दिपक टमटा १९ बलमा १७ रन,जय साउँद ५० बलमा १७ रन,सचिन शर्मा २७ बलमा १२ रन तथा युवराज खत्रीले ४६ बलमा १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो स्कोर छुन नसक्दा टोलि सस्तैमा समेटिन पुगेको अछामका प्रशिक्षक तथा जिल्ला क्रीकेट संघ अध्यक्ष अनिल कुँवरले बताउनुभयो।बलिङतर्फ कैलालीका लागि नरेन साउँदले ८ ओभरमा १ मेडेनसहित २५ रन खर्चंदै सर्वाधिक ४ विकेट लिन सफल हुँदा कप्तान नारायण जोशी ८ ओभरमा २२ रन तथा डवल ऐरले २.२ ओभरमा १ मेडेनसहित १ रन खर्चंदै समान २/२ विकेट लिन सफल भएका हुन।
११३ रनको झिनो विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको कैलालीले निर्धारित ४० ओभरको खेलमा २२.५ ओभर खेल्दै ३ विकेटको क्षती ११५ रन बनाउदै रोमाञ्चक ७ विकेटको जित आफ्नो नाममा दर्ता गराउन सफल हुँदै प्रादेशिक क्रीकेटको उपाधि आफ्नो नाम गर्न सफल भएको छ।ब्याटिङतर्फबाट कैलालीका लागि वसन्त कार्कीले ५७ बलमा अविजित ३९ रन बनाउदा डवल ऐरले ४९ बलमा अविजित ३६ रन तथा टेक रावतले १८ बलमा ३१ रन बनाउन सफल भए।बलिङतर्फ अछामका लागि युवराज खत्रीले ८ ओभरमा ३ मेडेनसहित १८ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल भएपनि आफ्नो टोलिलाइ उपाधी भने दिलाउन सकेनन्।
प्रधानमन्त्री कप प्रादेशिक क्रीकेट छनोट प्रतियोगिताको सातौ दिनको फाइनल खेलमा कैलाली जिल्ला ७ विकेटले विजयी हुँदै प्रादेशिक एकदिवसीय क्रीकेटको उपाधी पनि जित्न सफल भएको छ।खेलको म्यान अफ दी म्याच कैलालीका नरेन साउँद घोषित हुन सफल भए।