मैत्रीपुर्ण एकदिवसीय खेलमा मकवानपुरलाई ६ विकेटले हराउदै चितवनले सिरिजको पहिलो जित निकालेको छ । १ सय १९ रनको सामान्य लक्ष्य पछ्याएको चितवनले २५ दशमलव ५ ओभरमा ४ विकेट गुमाउदै जित निकालेको हो ।
चितवनको जितमा मध्यक्रममा ब्याटिङ गरेका जेनिश क्षेत्री ६३ रन बनाउदै अविजित रहे । उनलाई ओपनर साकार ढकालले २९ रन बनाउदै साथ दिएभने सुर्यान्शु कोइरालाले १८ रनको योगदान गरे ।
बलिङमा मकवानपुरका शुभ कंसाकारले २ विकेट लिएपनी टोलीको हार टार्न सकेनन् । यस्तै पीयूष शर्मा र समीर चौलागाईले समान १ विकेट लिए ।
त्यसअघि हुप्राचौरस्थित मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली मकवानपुरले फितलो प्रदर्शन गर्दै २९ ओभरमा १ सय १८ रन बनाउदा सबै विकेट गुमाउन पुग्यो । मकवानपुरका सुभ कंसाकारले सर्वाधिक ४३ रन बनाए । यस्तै गौरव खड्काले ३३ र सुमन सुनारले २१ रन जोड्नबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
मकवानपुरको पारी ध्वस्त पार्नेक्रममा चितवनका कप्तान दिपेश श्रेष्ठले ६ ओभर बलिङ गर्दै २५ रन खर्चिएर ४ विकेट लिए । यस्तै सौगात ढकाल र क्रिजन गुरुङले २/२ विकेट लिदा नरेश प्रधानले १ विकेट लिए । अविजित रहदै अर्धशतकिय पारी खेलेका चितवनका जेनिश क्षेत्री खेलको प्लेयर अफ द म्याच घोषित भए । यी दुई टोलीबिचको दोस्रो एक दिवसीय खेल भोलि हुनेछ । तीन खेलको शृङ्खलामा चितवनले १-० को अग्रता कायम गरेको छ । मकवानपुर क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिता चैत्र १५ गतेसम्म संचालन हुनेछ ।